यो जाडो याममा फ्लू विरूद्ध खोप लगाउनुहोस्‌।

आजै आफ्नो फ्लू विरूद्धको खोप बुक गर्नुहोस्।

इन्फ्लुएन्जा (जसलाई 'फ्लू' पनि भनिन्छ) भाइरसको कारण हुने अत्यन्तै संक्रामक बिमारी हो।

समुदायमा फ्लू र COVID-19 दुवै  सरिरहेका छन्‌। खोप लगाएर आफू र आफ्नो समुदायलाई सुरक्षित राख्नु महत्वपूर्ण छ।

फ्लू विरूद्धको खोप लगाउन आफ्नो डाक्टर, एबोरिजिनल चिकित्सा सेवा वा फार्मासिस्टसँग कुरा गर्नुहोस्।

निम्नानुसार केही व्यक्तिहरू फ्लूबाट बढी प्रभावित हुनेहुँदा उनीहरू निःशुल्क फ्लू खोपको लागि योग्य  छन्‌:

  • ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरू
  • गम्भीर स्वास्थ्य अवस्था (गम्भीर दम, मधुमेह, क्यान्सर, रोग प्रतिरोधात्मक क्षमतामा कमीकमजोरी, अत्याधिक मोटोपना तथा मृगौला, मुटु, फोक्सो वा कलेजोको रोग समेत) भएका व्यक्तिहरू
  • गर्भवती महिला
  • ६ महिनाको उमेरदेखिका एबोरिजिनल र टोरेस स्ट्रेट आइल्याण्डका मानिसहरू
  • ६५ वर्ष र सो भन्दा बढी उमेरका मानिसहरू।

कृपया ध्यान दिनुहोस्: केही सेवा प्रदायकहरूले प्रशासन वा परामर्श शुल्क लिन सक्छन्। आफ्नो डाक्टर वा फार्मासिस्टसँग यो तपाईंकोलागि लागू हुन्छ कि हुँदैन भन्ने सोध्नुहोस्।

यदि तपाईं निःशुल्क फ्लू खोपको लागि योग्य हुनुहुन्न भने डाक्टर वा फार्मासिस्टले तपाईंलाई एउटा सानो शुल्क लिनेछन्। त्यसरी लिइने शुल्क प्रदायकहरू अनुसार फरक-फरक हुन सक्छ

मलाई किन फ्लू विरूद्धको खोप चाहिन्छ?

इन्फ्लुएन्जा, वा फ्लू, एक श्वासप्रश्वाससम्बन्धी बिमारी हो जुन सामान्य रुघाखोकीभन्दा बढी गम्भीर हुन्छ। प्रत्येक वर्ष, NSW मा मानिसहरू फ्लूसँग सम्बन्धित बिमारीले गर्दा मर्दछन्।

तपाईंलाई वर्षको कुनै पनि समयमा फ्लू लाग्न सक्छ, तर यस्ता घटनाहरू हिउँदमा सबैभन्दा धेरै हुन्छन्‌। फ्लू र COVID-19 का लक्षणहरू उस्तै  भएतापनि  फ्लू र COVID-19 छुट्टाछुट्टै भाइरसका कारण हुने गर्छन्‌।

यो जाडो याममा फ्लू तथा COVID-19 आफूलाई लाग्नबाट वा अरुहरूलाई सर्न सक्ने जोखिमलाई घटाउन तपाईंले  गर्न सक्ने केही सरल कुराहरू छन्। दुवै विरूद्धको खोपहरू लगाएर आफू र समुदायलाई सुरक्षित राख्नुहोस्‌।

वर्षेनी फ्लू विरूद्ध एउटा खोप लगाउनाले सर्वोत्तम सुरक्षा दिन्छ।

तपाईंले वर्षेनी एउटा खोप लगाउनु आवश्यक छ किनभने फ्लू भाइरसहरू वर्षैपिच्छे परिवर्तन (mutate) हुने गर्छन्। आउँदो गरेको फ्लूको मौसममा फैलन सक्ने फ्लूको प्रजातीहरू (strains) बाट सुरक्षा प्रदान गर्न प्रत्येक वर्ष फ्लूका खोपहरूलाई परिष्कृत गरिन्छ।

फ्लू विरूद्ध खोप लगाएर, तपाईंले आफू र आफ्ना प्रियजनहरूलाई गम्भीर बिमारीबाट  जोगाउनु हुन्छ।

डाक्टर तथा फार्मेसीहरूले हरेक वर्ष अप्रिल/मे महिनाभरि नै फ्लू को खोप दिन थाल्छन्।

योग्य व्यक्तिहरूका लागि, फ्लू विरूद्धको निःशुल्क खोप आफ्नो डाक्टर वा एबोरिजिनल चिकित्सा सेवामार्फत लगाउन सकिन्छ। यदि तपाईं ६५ वर्ष र सोभन्दा बढी उमेरको हुनुहुन्छ भने, तपाईं आफ्नो स्थानीय फार्मासिस्टकोमा पनि जान सक्नुहुन्छ।  खोप लगाउनको लागि आजै अपोइन्टमेन्ट (appointment) लिनुहोस्‌।

यदि तपाईं फ्लूको निःशुल्क खोप लिन योग्य हुनुहुन्न भने, डाक्टर वा फार्मासिस्टलाई एउटा सानो शुल्क तिरेर खोप लगाउन सक्नुहुन्छ। त्यसरी लिइने शुल्क प्रदायकहरू अनुसार फरक-फरक हुन सक्छ।

फार्मासिस्टहरूले १० वर्ष र सोभन्दा बढी उमेरका बालबालिकाहरूलाई फ्लू विरूद्धको खोप दिन सक्छन्। १० वर्षमुनिका बालबालिकाका अभिभावकहरूले डाक्टरलाई भेट्नुपर्ने हुन्छ।

फ्लू र COVID-19 विरूद्धको खोपहरू सँगै दिन सकिन्छ।

फ्लू र  COVID-19 विरूद्धको खोपहरू सँगसँगै दिन सकिन्छ। निःशुल्क फ्लू खोपका लागि योग्य धेरै व्यक्तिहरू हिउँदको COVID-19 booster लागि पनि योग्य हुनेछन्। तपाईंलाई​ COVID-19 विरुद्ध थप सुरक्षाको आवश्यकता छ कि छैन भनेर आफ्नो डाक्टरलाई सोध्नुहोस्।

फ्लूका लक्षणहरू

फ्लूका लक्षणहरू कम्तीमा पनि एक हप्तासम्म रहिरहन सक्छन् र यसमा निम्न पर्न सक्छन्:

  • ज्वरो
  • खोकी
  • घाँटी दुख्ने
  • नाक बग्ने वा बन्द हुने
  • माँसपेशी दुख्ने
  • जोर्नी दुख्ने
  • टाउको दुख्ने
  • थकान
  • वाक्‌वाकी लाग्ने
  • वान्ता र पखाला लाग्ने (वयस्कहरूको तुलनामा बालबालिकाहरूमा बढी देखिने)।

COVID-19 र फ्लूका लक्षणहरू एकदमै समान देखिन सक्छन्। यदि तपाईंलाई रुघाखोकी वा फ्लूको जस्तो लक्षणहरू छन् भने, तपाईंले सिधै COVID-19 को टेष्ट , तपाईंले लगाउनु पर्ने सबै खोपहरू लगाएको भएता पनि, गर्नुपर्छ।

यसले तपाईंलाई आवश्यक परेको खण्डमा उचित सहयोग र उपचार पाउन मद्दत गर्नेछ । यदि तपाईंको  टेष्टको नतिजा नेगेटिभ आए पनि तपाईंले आफ्नो लक्षणहरू नहराएसम्म घरमै बस्नुपर्छ।

फ्लू भएका अधिकांश मानिसहरू केही दिनमा निको हुन सक्छन्, तर केही मानिसहरूका लागि भने यसले गम्भीर तथा प्राणघातक रोग निम्त्याउन सक्छ।

यदि तपाईंका लक्षणहरू गम्भीर छन् भने, कृपया आफ्नो डाक्टरसँग परामर्श लिनुहोस् वा तुरुन्तै तीन शुन्य (०००) मा फोन गर्नुहोस्।

फ्लूको निदान कसरी हुन्छ

डाक्टरहरूले अक्सर लक्षणहरूको आधारमा इन्फ्लुएन्जाको निदान पत्ता लगाउने गर्छन्।

डाक्टरहरूले भाइरसको परीक्षण गर्न नाक वा घाँटी स्वाब गरेर निदानको पुष्टि गर्न सक्छन्।

रोग गम्भीर छ वा जटिलताको खतरा बढी छ भने मात्र यी परीक्षणहरू गर्नुपर्ने हुन्छ।

फ्लूको उपचार कसरी गरिन्छ

आराम गर्नुहोस्, प्रशस्त मात्रामा तरल पदार्थ पिउनुहोस् र माँसपेशीको दुखाइको लागि हल्काखाले दुखाई कम गर्ने औषधी लिनुहोस्‌।

फ्लूका कारण बिमारी भएका १६ वर्षमुनिका बालबालिकाहरूलाई एस्प्रिनयुक्त औषधी (aspirin-containing) नदिनुहोस्। एस्प्रिनको प्रयोग गर्दा Reye Syndrome, एक प्रकारको इन्सेफलाइटिस र कलेजोको अपक्षय (liver degeneration) हुने खतरा बढी हुन्छ।

तोकिएको इन्फ्लुएन्जा एन्टिभाइरल औषधीहरूले इन्फ्लुएन्जाको गम्भीरता र अवधि कम गर्न सक्छ। तथापि, एन्टिभाइरल औषधीहरू:

  • लक्षण देखा परेको ४८ घण्टाभित्रै लिनु पर्ने
  • डाक्टरले तोकेको हुनुपर्ने
  • अक्सर फ्लूको संक्रमणले गर्दा जटिलताको खतरा बढी हुने मानिसहरूको लागि मात्र रिजर्व गरिएको हुन्छ।

फ्लू कसरी फैलिन्छ

संक्रमित व्यक्तिले खोक्दा, हाच्छ्यूँ गर्दा वा ढोकाको ह्यान्डल र लिफ्टको बटन जस्ता सतहहरूमा छुँदा फ्लू फैलिन्छ।

संक्रमित व्यक्तिले लक्षणहरू देखा पर्नुभन्दा अगाडिदेखि नै फ्लू फैलाउन सक्छन्। फ्लू लागेका मानिसहरू लक्षणहरू शुरू हुनुभन्दा एक दिनअघिदेखि ५ देखि ७ दिनसम्म संक्रामक हुन्छन्। साना बालबालिका तथा कमजोर प्रतिरोधात्मक प्रणाली भएका व्यक्तिहरू लामो समयसम्म संक्रामक हुन सक्छन्।

विगतका दुई वर्षदेखि हामीले अभ्यास गर्दै आएका धेरै COVID-safe व्यवहारहरू पनि फ्लूलाई फैलिनबाट रोक्न निकै प्रभावकारी छन्:

  • तपाईं बिरामी हुनुहुन्छ भने घरमै बस्नुहोस्
    यदि तपाईं बिरामी हुनुहुन्छ भने, घरमै बस्नुहोस् र अन्य व्यक्तिहरूलाई बिरामी हुनबाट रोक्न उनीहरूको धेरै नजिक नजानुहोस्‌।
  • हाच्छ्यूँ गर्दा कुहिनाले ढाक्नुहोस्‌
    हाच्छ्यूँ  गर्दा हत्केलाहरूको सट्टा कुहिनामा गर्नुहोस्‌ अथवा खोक्दा वा हाच्छ्यूँ  गर्दा आफ्नो अनुहार टिस्यूले ढाक्नुहोस्‌। प्रयोग गरेका टिस्यूहरूलाई फोहोरदानीमा फ्याल्नुहोस्‌।
  • आफ्नो हातहरू सफा गर्नुहोस्
    आफ्ना हातहरू राम्ररी र पटक पटक धुनुहोस्। कम्तीमा पनि २० सेकेन्डसम्म हात धुनुहोस्, विशेषगरी खोकी लागेपछि, हाच्छयूँ गरिसकेपछि वा नाक फुकेपछि, वा अल्कोहोलमा आधारित हात स्यानिटाइज गर्ने प्रयोग गरेपछि।

थप जानकारी

Flu and how to protect yourself  (फ्लू र आफूलाई कसरी बचाउने) बारे अझ बढी सिक्नुहोस्।

फ्लू ट्रयाक गर्न मद्दत गर्नुहोस्

FluTracking इन्फ्लुएन्जा महामारी ट्रयाक गर्ने अनलाइन समुदायमा-आधारित उपाय हो। तपाईं आफ्नो स्थानीय समुदायमा इन्फ्लुएन्जा ट्रयाक गर्न साइन अप गर्न सक्नुहुन्छ र वैज्ञानिक अनुसन्धानमा योगदान दिन सक्नुहुन्छ।




Current as at: Wednesday 14 December 2022
Contact page owner: Communicable Diseases