साल्मोनेला (Salmonella) तथ्यपत्र

साल्मोनेलोसिस रोग साल्मोनेला नामक ब्याक्टेरियाबाट हुने रोग हो। अष्ट्रेलियामा, धेरै जसो साल्मोनेला संक्रमण दूषित खाना खाएपछि वा कहिलेकाँही संक्रमण भएको अर्को व्यक्तिसँगको सम्पर्क पछि देखा पर्दछ। मासुजन्य खानेकुरा वा अण्डा राम्रोसंग पकाउने लगायत खाना सुरक्षितरुपमा सम्हालेर र हातको राम्रो सरसफाई गरेर यसको संक्रमण रोक्न सकिन्छ।


Last updated: 02 December 2025

साल्मोनेलोसिस कस्तो रोग हो?

साल्मोनेलोसिस (वा साल्मोनेला) साल्मोनेला नामक ब्याक्टेरियाको संक्रमणबाट हुने रोग हो। अष्ट्रेलियामा, धेरै जसो साल्मोनेला संक्रमण दूषित खाना खाएपछि वा कहिलेकाँही संक्रमण भएको अर्को व्यक्तिसँगको सम्पर्क पछि देखा पर्दछ।

साल्मोनेलाका लक्षणहरू के के हुन्?

यसका लक्षणहरूमा निम्न पर्दछन् :

  • टाउको दुख्ने
  • ज्वरो आउने
  • पेटमा ऐंठन हुने
  • पखाला लाग्ने
  • वाकवाकी लाग्ने
  • बान्ता आउने

लक्षणहरू सामान्यतया: ब्याक्टेरियाको सम्पर्कमा आएको ६ देखि ७२ घण्टा पछि सुरु हुन्छ र सामान्यतया ४ देखि ७ दिनसम्म रहन्छ। लक्षणहरू कहिलेकाँही धेरै लामो समयसम्म रहन सक्छ।

साल्मोनेला कसरी फैलिन्छ?

साल्मोनेला सामान्यतया संक्रमित जनावरहरूबाट बनेको कम पकाएको खाना (उदाहरणका लागि कम पकाएको मासु, कुखुरा र अण्डा जस्ता जनावरहरूबाट बनेका खानाहरू) खाएर मानिसहरूमा फैलिन्छ।

साल्मोनेला निम्न माध्यमबाट पनि फैलिन सक्छ:

  1. परस्पर दूषितता - यो तब हुन्छ जब दूषित खानाबाट साल्मोनेला अन्य खानामा फैलिन्छ। उदाहरणका लागि, यदि साल्मोनेलाबाट दूषित भएको खाना काट्नका लागि प्रयोग भएको चक्कु फेरी नपकाइने अरु खाना काट्नका लागि प्रयोग गरिन्छ भने साल्मोनेला त्यो नयाँ खानामा बढ्नेछ।
  2. एक व्यक्ति देखि अर्को व्यक्तिमा-विशेष गरी खाना पकाउँदा यदि हातहरू राम्रोसँग धोइएन भने सर्न सक्दछ। यो जनावरहरूबाट पनि मानिसहरूमा फैलिन सक्छ।

साल्मोनेलाको जोखिम कस्तो व्यक्तिलाई हुनसक्छ?

साल्मोनेला जो कोहीलाई पनि हुन सक्छ। विशेषगरी शिशुहरू, वृद्धहरू, र कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसहरूलाई गम्भिर संक्रमण हुने सम्भावना बढी हुन्छ।

साल्मोनेलाको संक्रमण हुनबाट कसरी रोक्न सकिन्छ?

खाना पकाउदा

खाना राम्रोसंग पकाउँदा साल्मोनेलाको जीवाणु मर्छ। काँचो वा कम पकाएको मासु, कुखुरा वा अण्डाबाट टाढा रहनुहोस्। कुखुरा र मासु - जस्तै ह्यामबर्गर, ससेज, र रोल्ड रोस्टहरू - बीचमा कुनै गुलाबी नदेखेसम्म पकाउनु पर्छ।

हात धुँदा

शौचालयमा गएपछि, भित्री वस्त्र परिवर्तन गरेपछि, जनावरहरूलाई छुँदा, खाना सम्हाल्नु अघि र पछि र खाना खानु अघि कम्तिमा २० सेकेन्डसम्म साबुन र पानीले राम्ररी हात धुनुहोस्। विशेष गरी औंलाको नङ मुनि र औंलाहरुको बीचमा सफा गर्नु महत्त्वपूर्ण छ।

संक्रमित खाना सम्हाल्ने व्यक्तिहरूले ब्याक्टेरिया सजिलै फैलाउन सक्छन्। पखाला रोकिएको ४८ घण्टासम्म उनीहरूले खाना सम्हाल्न वा सेवा गर्नु हुँदैन।

तापक्रम नियन्त्रण

खानालाई राम्रोसँग भण्डारण नगर्नाले ब्याक्टेरिया बढ्न सक्छ।

दूषित हुनबाट (Contamination) रोक्नका लागि:

  • रेफ्रिजरेटेड खानाहरू पाँच डिग्री सेल्सियस भन्दा कममा राख्नुहोस्
  • तातो खानालाई ६० डिग्री सेल्सियस भन्दा माथि राख्नुहोस्
  • खानाको सबै भागहरू तातो नभएसम्म खानाहरू चाँडै पुनः तताउनु पर्छ
  • फ्रिज वा माइक्रोवेभमा जमेका खानाहरु पगाल्नुहोस्।

तपाईंले कोठाको तापक्रममा जति लामो समय खाना छोड्नुहुन्छ त्यति नै गुणा साल्मोनेला बढ्न सक्छ।

खाना सम्हाल्ने र दूषितता

खानाको दूषितता रोक्नको लागि:

  • फ्रिज वा फ्रिजको तल्लो भागमा सिल गरिएका कन्टेनरहरूमा कच्चा खाद्य पदार्थहरू (जस्तै मासु) भण्डारण गर्नुहोस् ताकि खाना खानको लागि तयार अन्यमा कुनै पनि तरल पदार्थ चुहिन वा फैलन रोक्न सकियोस्। फ्रिज र फ्रिजमा रहेका सबै खानाहरूलाई दूषित हुनबाट जोगाउन ढाक्नुहोस्।
  • काँचो खाना तयार गर्दा र तयारी खाना खान तयार गर्दा फरक फरक काट्ने बोर्ड, ट्रे, भाँडा र प्लेटहरू प्रयोग गर्नुहोस्। यदि तपाईंसँग एउटा मात्र काट्ने बोर्ड छ भने यसलाई पुन: प्रयोग गर्नु अघि तातो साबुन पानीमा राम्रोसँग धुनुहोस्।
  • कुनै पनि काँचो तरकारी र फलहरू तयार गर्नु र खानु अघि सबै फोहोरलाई राम्ररी पखाल्नुहोस्।
  • हात पुछ्ने वा टेबुल पुछ्ने गम्छा, नभई फरक कपडाले भाँडाहरु सुकाउनुहोस् र उक्त कपडा नियमित धुनुहोस्।

साल्मोनेलाको कसरी निदान गरिन्छ?

डाक्टरले तपाईंको दिसाको नमुना परिक्षण पछि साल्मोनेला छ कि छैन भनेर बताउनेछन्।

साल्मोनेलाको उपचार कसरी गरिन्छ?

धेरैजसो मानिसहरू प्रशस्त आराम गरेर र प्रशस्त तरल पदार्थहरू जस्तै पानी वा  हाइड्रेशन (जल-योजन गर्ने) पेय पदार्थ (तपाईंको फार्मासिष्टबाट प्राप्त) पिउँदा निको हुन्छन्। धेरैजसो मानिसहरू एक हप्ता भित्र निको हुन्छन्।

तपाईंले आफ्नो डाक्टरलाई सम्पर्क गर्नुपर्छ, यदि:

  • लक्षणहरू केही दिन भन्दा लामो समयसम्म रहन्छन्।
  • पखाला गम्भीर वा रगतयुक्त छ।
  • तपाईं गम्भीर साल्मोनेला (साना बच्चाहरू, वृद्ध व्यक्तिहरू, र कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरू) को जोखिममा हुनुहुन्छ।
  • तपाईं चिन्तित हुनुहुन्छ।

धेरैजसो मानिसहरूलाई एन्टिबायोटिक आवश्यक पर्दैन। एन्टिबायोटिक्स साना बच्चाहरू वा वृद्ध व्यक्तिहरूको लागि सिफारिस गर्न सकिन्छ। केही व्यक्तिहरूलाई अस्पताल भर्ना आवश्यक पर्नसक्छ।

साल्मोनेलाका लागि जनस्वास्थ्यबाट आउने प्रतिक्रिया के हो?

प्रयोगशालाहरूले साल्मोनेला संक्रमणका घटनाहरू स्थानीय जनस्वास्थ्य इकाईलाई सूचित गर्न आवश्यक छ। जनस्वास्थ्य इकाईहरूले मिल्दो साझा कुरा हेर्न र पहिचान गर्नका लागि  घटनाहरूको समूहहरूको अनुसन्धान गर्छन्। परिक्षणमा एकै खाना पाइएको अवस्थामा NSW खाद्य प्राधिकरणले थप वातावरणीय अनुसन्धान गर्नेछ र नियन्त्रणका उपायहरू अपनाउनेछ। रोकथामका रणनीतिहरू विकास गर्नका लागि मद्दत गर्न घटनाहरूको तथ्याङ्क प्रयोग गरिन्छ।

NSW खाद्य प्राधिकरण साल्मोनेलोसिस र अन्य खाद्यजन्य संक्रमणहरू रोक्न प्रयोग हुने खाद्य सुरक्षा रणनीतिहरूको दायराको लागि जिम्मेवार छ।

अतिरिक्त स्रोतहरू

यदि तपाईंमा साल्मोनेला (Salmonella) का लक्षणहरू छन् र तपाईं चिन्तित हुनुहुन्छ भने, तुरुन्तै आफ्नो डाक्टरसँग कुरा गर्नुहोस् वा आपतकालीन अवस्थामा ट्रिपल जिरो (000) मा कल गर्नुहोस्।

थप सल्लाहको लागि, निःशुल्क र गोप्य भाषा सहायता लिन 131 450 मा अनुवाद र दोभाषे सेवा (TIS)  लाई कल गर्नुहोस्। तिनीहरूलाई आफ्नो भाषा र तपाईं कोसँग कुरा गर्न चाहनुहुन्छ बताउनुहोस्।

  • तपाईंको स्थानीय जनस्वास्थ्य इकाइलाई 1300 066 055 मा
  • निःशुल्क २४-घण्टा स्वास्थ्य सल्लाहको लागि Healthdirect लाई 1800 022 222 मा

वैकल्पिक रूपमा, आफ्नो स्थानीय फार्मासिष्टसँग कुरा गर्नुहोस्।


Current as at: Tuesday 2 December 2025
Contact page owner: One Health