शिगेला (शिगेलोसिस)

शिगेलोसिस शिगेला ब्याक्टेरियाको कारणले हुने रोग हो। यसले पखाला निम्त्याउँछ र मानिसहरूमा सजिलै फैलिन्छ।

Last updated: 18 December 2025

शिगेला के हो?

शिगेला संक्रमण, जसलाई शिगेलोसिस पनि भनिन्छ, शिगेला ब्याक्टेरियाको कारणले हुन्छ। शिगेला ब्याक्टेरिया संक्रमित व्यक्तिको दिसाको सम्पर्कमा आएर, वा दूषित पानी अथवा खाना खाएर फैलिन सक्दछ। यसले सामान्यतया: पखाला निम्त्याउँछ।

शिगेलाका लक्षणहरू के-के हुन्?

शिगेला संक्रमणका लक्षणहरूमा निम्न समावेश छन्:

  • पखाला लाग्ने
  • ज्वरो आउने
  • वाकवाकी लाग्ने
  • दिसामा रगत वा श्लेष्म
  • बान्ता आउने र पेटमा ऐंठन पनि हुन सक्छ।

लक्षणहरू सामान्यतया: तपाईं संक्रमित भएको 1 -3 दिन पछि सुरु हुन्छन्। लक्षणहरू सामान्यतया: 4 -7 दिनसम्म रहनसक्छन्, तर लामो समयसम्म रहन पनि सक्छन्। केही मानिसहरूका लागि, लक्षणहरू 1 हप्तासम्म पनि नदेखिन सक्छन् वा तिनीहरूमा लक्षणहरू नै विकास नहुने हुनसक्छ।

शिगेला कसरी फैलिन्छ?

शिगेला मानिसको दिसामा हुनसक्छ। तपाईंमा निम्न माध्यमबाट शिगेला संक्रमण सर्न सक्दछ:

  • ब्याक्टेरियाद्वारा दूषित खाना खादाँ वा पानी पिउदाँ
  • धारा, भित्री वस्त्र र खेलौना जस्ता दूषित वस्तुहरू छुदाँ र त्यसपछि आफ्नो मुख छुदाँ
  • संक्रमित व्यक्तिसँग मौखिक वा गुदा सेक्स गर्ने

शिगेला हुने जोखिम कसलाई बढी हुन्छ?

शिगेला संक्रमणको सबैभन्दा जोखिममा रहेका व्यक्तिहरूमा निम्न समावेश छन्:

  • शिगेला सामान्य भएका देशहरूमा यात्रा गर्ने व्यक्तिहरू
  • पुरुषहरूसँग यौन सम्बन्ध राख्ने पुरुषहरू
  • बच्चाहरू
  • कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरू
  • वृद्ध।

शिगेलालाई कसरी रोक्न सकिन्छ?

शिगेला संक्रमणबाट बच्न, तपाईंले:

  • कम्तिमा २० सेकेन्डसम्म साबुन र पानीले राम्ररी हात धुनुहोस्:
    • शौचालय गएपछि
    • भित्री वस्त्र परिवर्तन गरेपछि
    • दिसासँग कुनै पनि सम्भावित तरिकाले सम्पर्कमा आएपछि
    • खाना सम्हाल्नु अघि वा अन्य व्यक्तिको हेरचाह गर्नु अघि
  • काँचो खाने तरकारी र फलफूल धुनुहोस्

शिगेला सामान्य भएका देशहरूमा यात्रा गर्ने व्यक्तिहरूले:

  • फलफूल तथा तरकारीहरू लगायत नपकाइएका खानेकुराहरुबाट टाढा रहनुहोस् (जबसम्म तपाईं आफैले तिनीहरूको बोक्रा फाल्न सक्नुहुन्न)
  • बोतल बन्द भएको वा उमालेको पानी मात्र पिउनुहोस्
  • बरफ र पानीमा मिसाइएको पेय पदार्थ लगायतका उपचार नगरिएको पानी पिउनु नपिउनुहोस्
  • सडकका पसलहरूबाट खानेकुरा नखानुहोस्
  • तातो खाना राम्रोसँग पकाइएको र तातो हुँदा नै खाएको सुनिश्चित गर्नुहोस्।

शिगेला संक्रमण भएका व्यक्तिहरूले:

  • बिरामी हुँदा अरूको लागि खाना तयार वा हेरचाह नगर्नुहोस्।
  • लक्षणहरू भएको बेला काममा जानु हुँदैन। खाना सम्हाल्ने काम गर्ने मानिसहरू (जस्तै भान्साका कर्मचारीहरू र वेटरहरू, कसाईहरू); र बिरामीहरू, बच्चाहरू वा वृद्धहरूको हेरचाह गर्नेहरूले पखाला रोकिएको 48 घण्टासम्म काममा फर्कनु हुँदैन। बच्चाहरू, विशेष गरी न्यापी लगाउनेहरू, पखाला रोकिएको २४ घण्टासम्म बाल हेरचाहबाट घरमै राख्नुपर्दछ।
  • शिगेलालाई मुखमा सार्नबाट जोगिनका लागि गुदासँग कुनै सम्पर्क भएको ठाउँमा यौन सम्बन्ध राख्नु हुदैन।
  • पखाला रोकिएको 2 हप्ता सम्म पौडी खेल्नु हुदैन।

शिगेलाको निदान कसरी गरिन्छ?

डाक्टरले दिसाको नमूना परीक्षण गर्नेछन्।

शिगेलाको उपचार कसरी गरिन्छ?

शिगेला संक्रमण भएका व्यक्तिहरूलाई सामान्यतया: डाक्टरले रोगको गम्भीरता र अवधि कम गर्नका लागि एन्टिबायोटिकहरू सिफारिस गर्छन्। एन्टिबायोटिकले अरू व्यक्तिप्रति संक्रामक हुने समय पनि घटाउन सक्छ। डिहाइड्रेशन (निर्जलीकरण) बाट बच्न धेरै तरल पदार्थ पिउनु महत्त्वपूर्ण छ। साना बच्चाहरू (विशेष गरी शिशुहरू) पखालाबाट निर्जलीकरणको जोखिममा छन् र आमाबाबुले चिकित्सा ध्यान खोज्नुपर्छ।

जनस्वास्थ्य प्रतिक्रिया के हो?

प्रयोगशालाहरूले साल्मोनेला संक्रमणका घटनाहरू स्थानीय जनस्वास्थ्य इकाईलाई सूचित गर्न आवश्यक छ। जनस्वास्थ्य एकाइका कर्मचारीहरूले बिरामी तथा उनीहरूका हेरचाहकर्ताको अन्तर्वार्ता लिनेछन् र संक्रमणको स्रोत पहिचान गर्ने तथा थप घटनाहरू नियन्त्रण गर्ने प्रयास गर्नेछन्।

अतिरिक्त स्रोतहरू

थप सल्लाहको लागि, निःशुल्क र गोप्य भाषा सहायता लिन 131 450 मा अनुवाद र दोभाषे सेवा (TIS) लाई कल गर्नुहोस्। तिनीहरूलाई आफ्नो भाषा र तपाईं कोसँग कुरा गर्न चाहनुहुन्छ बताउनुहोस्।

  • तपाईंको स्थानीय जनस्वास्थ्य इकाइलाई 1300 066 055 मा
  • निःशुल्क २४-घण्टा स्वास्थ्य सल्लाहको लागि healthdirect लाई 1800 022 222 मा
Contact page owner: One Health