टाइफाइड (Typhoid) र प्याराटाइफाइड (paratyphoid) तथ्यपत्र

टाइफाइड साल्मोनेला ब्याक्टेरियाका दुई फरक सेरोटाइपको कारणले हुन्छ। यो खराब सरसफाइ वा उपचार नगरिएको खानेपानी भएका देशहरूमा सामान्य हो। कम विकसित देशहरूमा साथीभाइ र परिवारलाई भेट्न आउने मानिसहरूलाई टाइफाइड खोप लगाउन कडाइका साथ सिफारिस गरिन्छ।

Last updated: 18 December 2025

टाइफाइड र प्याराटाइफाइड भनेको के हो?

टाइफाइड र प्याराटाइफाइड साल्मोनेला ब्याक्टेरियाका दुई फरक प्रजातिहरूको कारण हुने रोगहरू हुन्। यी रोगहरूले समान रोग निम्त्याउँछन्। प्याराटाइफाइड संक्रमण टाइफाइड भन्दा कम गम्भीर र कम सामान्य हुन्छ।

अष्ट्रेलियामा देखिने अधिकांश टाइफाइड र प्याराटाइफाइड संक्रमणहरू विदेशी भूमीबाट सरेका हुन्छन्। यी रोगहरू अष्ट्रेलियामा दुर्लभ छन्।

यी संक्रमणहरू साल्मोनेलाका अन्य प्रजातिहरूसँगको संक्रमण भन्दा फरक छन्, जसले सामान्यतया ग्यास्ट्रोएन्टेराइटिस (ग्यास्ट्रो) निम्त्याउँछन्।

टाइफाइड र प्याराटाइफाइडका लक्षणहरू के-के हुन्?

बिरामीले हल्का वा गम्भीर लक्षणहरू अनुभव गर्न सक्छन्। लक्षणहरूमा निम्न समावेश हुन सक्छन्:

  • लामो समयसम्म ज्वरो आउने
  • पसिना आउने
  • गम्भीर टाउको दुख्ने
  • सामान्यतया अस्वस्थ महसुस गर्ने
  • पेट दुख्ने
  • पखाला वा कब्जियत हुने
  • भोक नलाग्ने र तौल घट्ने।

टाइफाइडको लक्षण सामान्यतया: संक्रमण भएको ८-१४ दिन पछि सुरु हुन्छ। लक्षणहरू छिटोमा संक्रमण भएको ३ दिन पछि वा ढिलोमा ६० दिन पछि  देखिन सक्छन्। प्याराटाइफाइडका लक्षणहरू सामान्यतया १ – १० दिन भित्र देखा पर्दछन्।

यदि उपचार गरिएन भने, टाइफाइड र प्याराटाइफाइड घातक हुन सक्छ। लक्षणहरू देखिने बित्तिकै डाक्टरसँग कुरा गर्नु महत्त्वपूर्ण हुन्छ।

धेरैजसो मानिसहरू उपचारको साथ धेरै हप्तामा पूर्णरुपमा निको हुन्छन् र लक्षणहरू सामान्यतया एक हप्तामा बन्द हुन्छन्।

केही मानिसहरूमा रोगको कुनै लक्षण नभए पनि उनीहरूको दिसा र/वा पिसाबमा एक वर्ष भन्दा बढी समयसम्म ब्याक्टेरियाहरू रहन्छन्। यी मानिसहरूलाई वाहक भनिन्छ र तिनीहरुले अरूलाई संक्रमित गर्न सक्छन्।

टाइफाइड र प्याराटाइफाइड कसरी फैलिन्छ?

खराब सरसफाइ, हातको सरसफाइको स्तर कमजोर र खाना व्यवस्थापनको स्तर कमजोर र उपचार नगरिएको खानेपानी भएका देशहरूमा टाइफाइड बढी हुन्छ।

टाइफाइड र प्याराटाइफाइड गराउने ब्याक्टेरियाहरू संक्रमित व्यक्तिहरुको दिसामा र कहिलेकाँही तिनीहरूको पिसाबमा हुन्छ।

मानिसहरूले दिसाद्वारा दूषित खाना खाँदा वा पानी पिउँदा टाइफाइड र प्याराटाइफाइड फैलिन्छ। झिंगाहरुले ब्याक्टेरियालाई खानामा सार्न सक्छन्, वा खाना दुषित पानीमा उब्जाइएको, तयार पारिएको वा भण्डारण गरिएको हुनसक्छ।

कम विकसित देशहरूमा नपकाइएको फलफूल तथा तरकारी र शेलफिशबाट टाढा रहनुपर्छ।

टाइफाइड र प्याराटाइफाइड हुने जोखिम कसलाई हुन्छ?

अष्ट्रेलियामा, टाइफाइड र प्याराटाइफाइड प्रायः त्यस्ता व्यक्तिहरूमा मात्र पाइन्छ, जो यी रोगहरू सामान्य भएका क्षेत्रहरूमा यात्रा गर्छन्।

साथीभाई र आफन्तहरूलाई भेट्न विकासशील देशहरू (विशेष गरी भारत, पाकिस्तान र बंगलादेश) फर्कने मानिसहरूमा यो रोग लाग्ने जोखिम सबैभन्दा ठूलो हुन्छ।

संक्रमित व्यक्तिसँग बस्ने, अथवा टाइफाइड वा प्याराटाइफाइडबाट संक्रमित व्यक्तिसँग यात्रा गरेका व्यक्तिहरूमा टाइफाइडको परीक्षण गर्नुपर्छ।

यदि लक्षणहरू देखा परेमा बिरामीले आफ्नो चिकित्सकलाई भेट्नुपर्छ।

टाइफाइड र प्याराटाइफाइड हुनबाट कसरी रोक्न सकिन्छ?

टाइफाइड र प्याराटाइफाइड सामान्य भएका देशहरूमा जाने व्यक्तिहरूले:

  • शौचालय गएपछि र खाना खानु अघि कम्तिमा २० सेकेन्डसम्म साबुन र पानीले राम्ररी हात धुनुहोस्।
  • फलफूल तथा तरकारीहरू लगायत नपकाइएका खानेकुरहरुबाट टाढा रहनुहोस् (जबसम्म तपाईं आफैले तिनीहरूको बोक्रा फाल्न सक्नुहुन्न)।
  • बोतल बन्द गरिएको वा उमालेको पानी पिउनुहोस् (दाँत माझ्दा समेत)।
  • बरफ र पानीमा मिसाइएको पेय पदार्थ लगायतका उपचार नगरिएको पानी नपिउनुहोस्।
  • सडकका पसलहरुबाट खानेकुरा नखानुहोस्।
  • तातो खाना राम्रोसँग पकाइएको र तातो हुँदा नै खाएको सुनिश्चित गर्नुहोस्।

टाइफाइड र प्याराटाइफाइड सामान्य हुने देशहरूमा जाने दुई वर्ष र सोभन्दा माथिका सबै उमेरका मानिसहरूलाई टाइफाइड खोप लगाउन सिफारिस गरिन्छ।

प्याराटाइफाइडको लागि कुनै खोप उपलब्ध छैन।

टाइफाइड वा प्याराटाइफाइड भएका व्यक्तिहरू, वा टाइफाइडबाट संक्रमितसँग एकै घरमा रहने व्यक्तिहरू:

  • उनीहरु अझै पनि संक्रामक छन् कि छैनन् भनेर सुनिश्चित गर्नका लागि धेरै पटक दिसा परीक्षणहरू गर्न आवश्यक हुनेछ
  • यदि उनीहरूले खाना सम्हाल्ने अथवा बच्चा, बिरामी वा वृद्धहरूको हेरचाह गर्ने काम गर्दछन् भने उनीहरूले स्थानीय जनस्वास्थ्य इकाईले काममा फर्कनका लागि योग्य भएको सल्लाह नदिएसम्म काम गर्नु हुँदैन।
  • जबसम्म दिसा परिक्षणले तिनीहरू संक्रामक छैनन् भनेर देखाउँदैनन् तबसम्म अरूको लागि खाना तयार गर्नु हुँदैन।

टाइफाइड र प्याराटाइफाइडको निदान कसरी गरिन्छ?

टाइफाइड र प्याराटाइफाइडको निदान गर्न तपाईंको डाक्टर वा स्थानीय अस्पतालले रगत अथवा दिसाको नमूना परीक्षण गर्नेछ।

टाइफाइड र प्याराटाइफाइडको उपचार कसरी गरिन्छ?

टाइफाइड र प्याराटाइफाइडलाई एन्टिबायोटिकले उपचार गर्न सकिन्छ। लक्षण नभएका तर टाइफाइड वा प्याराटाइफाइड हुन सक्ने मानिसहरूको उपचारका लागि एन्टिबायोटिक उपचार आवश्यक छ।

यदि लक्षणहरू गम्भीर छन् भने, अस्पताल भर्ना आवश्यक हुन सक्छ।

जनस्वास्थ्य प्रतिक्रिया के हो?

डाक्टरहरू, अस्पतालहरू र प्रयोगशालाहरूले टाइफाइड वा प्याराटाइफाइडको घटनाहरू स्थानीय जनस्वास्थ्य इकाईलाई सूचित गर्नुपर्छ।

जनस्वास्थ्य इकाईका कर्मचारीहरूले संक्रमण कसरी भयो भनेर पत्ता लगाउनका लागि डाक्टर वा बिरामी (वा हेरचाहकर्ताहरू) सँग अन्तर्वार्ता लिनेछन्।

NSW Health को सहकार्यमा NSW खाद्य प्राधिकरण टाइफाइड वा प्याराटाइफाइड भएका खाना सम्हाल्ने व्यक्तिहरुको वातावरणीय अनुसन्धानको लागि जिम्मेवार छ।

तपाईंको स्थानीय जनस्वास्थ्य इकाईले काम र स्कूलबाट छुट्टीका  बारेमा थप सल्लाह दिन सक्छ। कामबाट छुट्टी लिएका व्यक्तिहरूलाई काममा फर्कन अनुमति दिनु अघि धेरै पटक दिसा परीक्षणहरू गराउनुपर्नेछ।

अतिरिक्त स्रोतहरू

थप सल्लाहको लागि, निःशुल्क र गोप्य भाषा सहायता लिन 131 450 मा अनुवाद र दोभाषे सेवा (TIS)  लाई कल गर्नुहोस्। तिनीहरूलाई आफ्नो भाषा र तपाईं कोसँग कुरा गर्न चाहनुहुन्छ बताउनुहोस्।

  • तपाईंको स्थानीय जनस्वास्थ्य इकाइलाई 1300 066 055 मा
  • निःशुल्क २४-घण्टा स्वास्थ्य सल्लाहको लागि healthdirect लाई 1800 022 222 मा
Current as at: Thursday 18 December 2025
Contact page owner: One Health