एन.एस.डब्ल्यु. मा विषालु डेथ क्याप च्याउ उम्रिरहेको भेटिएकाले एन.एस.डब्ल्यु. स्वास्थ्य (NSW Health) ले जङ्गली च्याउ खाँदा स्वास्थ्यलाई हुने जोखिमको बारेमा चेतावनी दिइरहेको छ।
अमानिटा फाल्लोइड्स, जसलाई सामान्यतया डेथ क्याप च्याउहरू भनेर चिनिन्छ, हालसालै सिड्नी, दक्षिणी हाईल्यान्ड्स र दक्षिणी एन.एस.डब्ल्यु. मा उम्रिरहेको फेला पारिएको छ।
एन.एस.डब्ल्यु. वीष सम्बन्धी जानकारी केन्द्रका वरिष्ठ विशेषज्ञ, जेनेभिव अडामोले डेथ क्याप च्याउ खाएमा घातक हुन सक्छ भन्ने कुरा बताइन्।
“कहिलेकाहीँ च्याउको विषाक्तताका लक्षणहरू देखिन समय लाग्न सक्छ, तर स्वास्थ्य परिणामहरूका लागि प्रारम्भिक उपचार महत्त्वपूर्ण छ,” सुश्री अडामोले भनिन्।
“यिनीहरूमा बान्ता आउने र पखाला लाग्ने, र गम्भीर मामिलाहरूमा, कलेजो र मृगौलामा क्षति पुग्ने वा ज्यानै जाने समावेश छन्।”
एउटा जङ्गली च्याउ खानको लागि सुरक्षित छ कि छैन भनेर पहिचान गर्न एकदम गाह्रो हुन्छ भनेर सिड्नीको वनस्पति उद्यानका प्रमुख वैज्ञानिक, प्राध्यापक ब्रेट समर्रेलले चेतावनी दिए।
“एउटा जङ्गली च्याउ खान मिल्छ वा विषालु छ कि भनेर पहिचान गर्ने सजिलो वा भरपर्दो तरिका छैन, त्यसैले हामी मानिसहरूलाई जङ्गली च्याउहरू नखोज्न र नखान सल्लाह दिन्छौँ।,” प्राध्यापक समर्रेलले भने।
“विषालु च्याउहरूलाई पकाउँदा तिनीहरू खानको लागि सुरक्षित हुँदैनन्।
“तपाईंले केवल सम्मानित किराना पसल, सुपरमार्केट वा उत्पादनको बजारबाट आफूले खरिद गरेको च्याउहरू खानुपर्छ।”
२०२४ मा, च्याउ खाएर विषाक्तताको कारणले अस्पताल भर्ना हुने २३ घटनाहरू थिए, ती मध्ये दुईजना ५ वर्ष भन्दा कम उमेरका बालबालिकाहरू थिए।
त्यही वर्ष, एन.एस.डब्ल्यु. वीष सम्बन्धी जानकारी केन्द्रले एन.एस.डब्ल्यु. र ए.सी.टी. मा जङ्गली च्याउका जोखिमहरूका सम्बन्धमा ३६३ फोनहरूको जवाफ दियो, जुन २०२३ को तुलनामा २६ प्रति शतको वृद्धि हो।
यस वर्ष अहिलेसम्म (३१ मे २०२५ सम्म), १९० फोनहरू आएका छन्।
एन.एस.डब्ल्यु. मा एकदम विषालु डेथ क्याप च्याउको पहिचान गरिएकाले जङ्गली च्याउहरू खाँदा विनाशकारी परिणामहरू हुन सक्छन् भन्नेबारे यो चेतावनी हो।
“साना बच्चाबच्चीहरूको जे कुरा पनि आफ्नो मुखमा हाल्ने प्रवृत्ति हुने भएकाले, उनीहरू जोखिममा पर्न सक्छन्,” सुश्री अडामोले भनिन्।
“आफ्ना बच्चाबच्चीहरू बाहिर खेल्दै गर्दा उनीहरूलाई ध्यान दिनुहोस्, विशेष गरी पार्कका ठुला रूखहरू वरिवरि वा तपाईंको घरको बगैँचामा जहाँ च्याउहरू उम्रिन सक्छन्।
“तपाईंको बच्चाबच्चीहरूलाई सुरक्षित राख्नको लागि उम्रिन सक्ने कुनै पनि च्याउहरूलाई हटाउनुहोस्।”
प्रारम्भिक रूपमा पत्ता लगाएपछि अघिल्ला दुई वर्षदेखि एन.एस.डब्ल्यु. स्वास्थ्य (NSW Health) र स्थानीय काउन्सिलहरूले दक्षिणी एन.एस.डब्ल्यु. मा डेथ क्याप च्याउहरूको निरन्तर निगरानी गरिरहेका छन्।
यदि तपाईं च्याउको विषाक्तता भएको हुन सक्छ भनेर चिन्तित हुनुहुन्छ भने लक्षणहरू देखा पर्ने प्रतीक्षा नगर्नुहोस्। तुरून्तै वीष सम्बन्धी जानकारी केन्द्रलाई १३ ११ २६ मा फोन गर्नुहोस्।
आपत्कालीन अवस्थामा तीनवटा शुन्य (०००) मा फोन गर्नुहोस् वा आपत्कालीन विभागमा जानुहोस्। सम्भव भएसम्म, पहिचान गर्न मद्दतको लागि च्याउको एक नमूना वा फोटो लिएर जानुहोस्।
च्याउको विषाक्तताबारे थप जानकारी एन.एस.डब्ल्यु. स्वास्थ्य (NSW Health) को वेबसाइटमा पाउन सकिन्छ।